काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस समेत सम्मिलित सरकार भित्रको अन्तरविरोधबारे राष्ट्रपति रामचन्द्र पौडेललाई पनि जानकारी गराएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दाबी गरेका छन्।
नेपाल लाइभको ‘नयाँ सांसद, नयाँ अनुभव’ कार्यक्रममा सांसद दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई मात्रै नभएर राष्ट्रपति पौडेललाई पनि अनौपचारिक रुपमा गठबन्धन भित्रको अन्तरविरोधबारे जानकारी गराएको दाबी गरेका हुन्।
‘सम्माननीय प्रधानमन्त्रीले पटक–पटक शेरबहादुरजीलाई मात्रै भन्नुभएन। राष्ट्रपतिलाई पनि अनौपचारिक हिसाबले गठबन्धनमा यो समस्या छ, यसलाई हल गर्न सकिएन भने म त बसिराख्दिनँ, परिणाम नआउने हो भने म किन बसिराख्ने? भन्नुभएको थियो’, दाहालले भने।
त्यसपछि राष्ट्रपति पौडेलले कांग्रेस सभापति देउवालाई नै बोलाएर प्रधानमन्त्री प्रचण्डको धारणाबारे जानकारी गराएको उनले बताएका छन्।
‘यस्तो स्थिति पैदा भइसकेपछि सम्माननीय राष्ट्रपतिले नै देउवालाई बोलाएर 'ल है यो चिज चै भएन भने प्रचण्ड अब यो समीकरण बदल्ने मुडमा हुनुहुन्छ' भन्नुभएको थियो। त्यसो भन्दाभन्दै पनि देउवाले तदारुकता साथ समस्या समाधान गर्ने प्रयत्न त गर्नुभएन नि’, दाहालको भनाइ छ।
कोशीमा चार पटक माओवादी केन्द्रलाई कांग्रेसले धोका दिएकाले र जे सोचेको त्यसअनुरुप परिणाम दिन नसकेपछि गठबन्धन परिवर्तन भएको दाहालले बताएका छन्।
प्रचण्डले फागुन २१ मा कांग्रेस समेत सहभागी गठबन्धन परिवर्तन गरेर एमाले लगायतका दलसँग गठबन्धन गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।
(दाहालसँगको संवाद बेलुका ८:३० मा नेपाल लाइभमा प्रसारण हुनेछ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।