काठमाडौं– नेकपा एमालेका नेता रघुजी पन्तले नेपालका खानीहरुमा रहेको निर्माणमुखी सामग्री निकासी गर्नसक्ने गरी विधेयक ल्याउन नहुने बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा भएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक, २०८० माथिको छलफल बोल्दै नेता पन्तले यस्तो बताएका हुन्।
उनले विधेयकमा सरकारले नेपालको खोला नदीमा भएका गिट्टी, बालुवा, ढुङ्गा जस्ता निर्माण सामग्री निकासी गर्न पाउने व्यवस्था राखेको भन्दै निर्माणजन्य सामग्री विदेशमा निर्यात गर्न पाउने विषय तत्काल हटाउन माग गरे।
उनले मुलुकभित्र रहेका निर्माणजन्य सामग्रीहरु विदेशमा निर्यात गर्नेभन्दा पनि मुलुकभित्रै खपत गर्नुपर्नेमा जोड दिए। उनले विधेयकको दफा ४२ मा सरकारले चाहेमा निकासीमा रोक लगाउन सक्ने भन्ने शब्दले निर्माण सामग्रीको स्रोतबाट गिट्टी, बालुवा, ढुङ्गा जस्ता निर्माण सामग्री निकासी गर्नसक्ने बुझिएकाले हटाउन माग गरे।
उनले सर्वोच्च अदालतले निर्माण सामग्री विदेश निकाय गर्न रोक लगाएकाले त्यो विषयमा सरकारले कानुन बनाउन नहुने बताए। उनले नेपाल आफैं विकाउन्मुख देश भएकाले धेरै पूर्वाधारहरु बनाउनुपर्ने अवस्था रहेको भन्दै सडक पूर्वाधार, जलविद्युत, पुल बनाउन आफैंलाई निर्माण सामग्री आवश्यक हुने बताए।
उनले नाफाको लागि निकासी गर्न छुट दिने हो भने भविष्यमा आवश्यक परेको खण्डमा यस्ता निर्माण सामग्री नेपालले पाउन नसक्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।