काठमाडौं– प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले प्रत्येक निर्वाचन क्षेत्रमा सांसदहरुको सिफारिसमा कम्तिमा ५० करोड रुपैयाँको योजना दिन माग गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य घिमिरेले देशभरका १६५ निर्वाचन क्षेत्रमा सांसदहरुको सिफारिसमा कम्तिमा ५० करोड रुपैयाँको योजना दिन माग गरे।
उनले सांसदहरुलाई ५/१० करोड रुपैयाँमात्रै नचाहिएको भन्दै आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदहरुको भूमिका नभएमा बजेट पास गर्न नदिने चेतावनी दिए।
‘यसवर्ष बजेट निर्माणमा सांसदहरुको भूमिका र सहभागिता भएन भने हामी यो बजेट पास गर्नको लागि सहयोगी किमार्थ पनि बन्न सक्दैनौं। बजेट पास गर्ने कुरामा विपक्षीको पनि के भूमिका हुन्छ भन्ने कुराको नजिर संसद्मा स्थापित भइसकेको कुरा स्मरण गराउन चाहान्छु,’ घिमिरेले भने, ‘स्वयम् प्रधानमन्त्री पार्टीले हामीलाई यो कुरा सिकाइसकेको पनि छ। हामीलाई ५/१० करोड चाहिएको होइन। १६५ वटा निर्वाचन क्षेत्रमा सांसदको सिफारिसमा कम्तीमा ५० करोडको योजना दिइयोस्। कार्यान्वयन सरकारले गर्ने हो। यदि बजेट निर्माणमा सांसदहरुको भूमिका शुन्य बनाइयो भने बजेट पास हुँदैन।’
प्रतिनिधि सभा सदस्य विनिताकुमारी सिंहले मेनपावरहरुले लाखौं रुपैया असुलेर युवाहरुलाई विदेश पठाउने गरेको भन्दै गैरकानुनी रुपमा असुल्ने मेनपावरहरुलाई कारबाही गर्न माग गरिन्। उनले श्रम गर्न विदेश जाने युवाहरु विभिन्न समस्याहरुमा पर्ने गरेका भन्दै ति समस्याहरुको समाधान गर्न सरकारले ध्यान पुर्याउनुपर्ने बताइन्।
‘हाम्रो देशको युवाहरु वैदेशिक रोजगारको शिलशिलामा विदेश जाँदा विभिन्न मेनपावर र एजेन्टहरुद्वारा ठगिने गरेको छन्। कतिपय कम्पनीहरुमा फ्रि भिसा र फ्रि टिकटको व्यवस्था भए पनि एजेन्टहरुले प्रतिव्यक्ति ३ देखि ४ लाख रुपैयाँसम्म उठाउने गरेको छ। ऋण लिएर विदेश गएका युवाहरु आफूले भनेको काम र पारिश्रमिक नपाएर दुःख झेल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कयौं कामदार युवाहरु जेलमा छन् त, कतिपय अलपत्र अवस्थामा छन्। विदेशमा मृत्यु भएका कामदारहरुको शव ल्याउन पनि महिनौं लाग्छ। तर पनि यि समस्याहरुमा राज्यको ध्यान गएको देखिँदैन। त्यसैले यस्ता समस्यामाथि राज्यको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु। साथै ठग, दलाल, एजेन्ट र मेनपावरलाई कानुनी दायरामा ल्याइ कडा कारबाहीको लागि सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु।’
प्रतिनिधि सभा सदस्य शान्ति वि.क.ले १३० केजी सुन तस्करी प्रकरणमा अर्थमन्त्री वर्षमान पुनको पनि नाम जोडिएको भन्दै यस सम्बन्धमा सदनमा जानकारी गराउन माग गरिन्। ‘अर्थमन्त्री वर्षमान पुनको पनि १३० केजी सुन काण्डमा जुन कुराहरु, समाचारहरु बाहिर आइराखेका छन्। यो कुरा के हो म सरकारमार्फत जान्न चाहन्छु। यो सदनलाई जानकारी गराइयोस्,’ उनले भनिन्।
अन्य सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास निर्माणको कामको सम्बन्धमा सदनमा कुरा उठाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।