काठमाडौं– नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई कारबाही गर्न माग गरेका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै कारबाहीको माग गरेका हुन्। उनले पुनलाई कारबाही नगरे गणतन्त्रप्रति नै जनतामा निराशा आउने र सरकारको विरुद्धमा जनताहरु सडकमा उत्रिने बताए।
उनले देश भ्रष्टाचारी र तस्करीको नबनाउन आग्रह गरे। उनले भने, ‘हामी देशमा सुशासन, समृद्धि चाहन्छौं। हामी आम जनता र जनप्रतिनिधिमा छाएको निराशालाई आशामा परिणत गर्न चाहन्छौं। यो देश तस्करीहरुको देश नबनोस्। यो देश भ्रष्टाचारीहरुको देश नबनोस्। यो देश गणतन्त्र र संविधानको विपक्षमा काम गर्नेहरुको देशको रुपमा परिचित नहोस्। सहकारी ठगि र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ। यदि यस्तो भयो भने यो देशमा आम जनताले बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको छ। त्यसप्रति निराश हुनेछन्। र वर्तमान सरकारको विरुद्धमा जनता सडकमा आउनेछ। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
उनले गर्मी मौसममा आगलागीका घटनाहरु हुने भन्दै त्यसप्रति समयमै सचेत भएर पूर्वतयारीमा लाग्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।