काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिएर अस्थिरता देखाएको बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले प्रधानमन्त्री अस्थिर भएको बताएका हुन्। उनले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री अस्थिरताको पक्षपाति भएको आरोप लगाए।
गठबन्धनहरु प्रधानमन्त्रीको कारण नभइ अरुको कारणले टुट्नुपर्ने भए पनि नेपालमा भने प्रधानमन्त्रीकै कारण गठबन्धनहरु टुट्ने गरेको उनको भनाइ थियो। उनले वर्तमान सत्तारुढ गठबन्धन पनि धेरै समय स्थिर नहुने दाबीसमेत गरे।
यस प्रकारले सरकार बन्ने र भत्किने प्रक्रियाले देशलाई स्थिरता नदिने उनको भनाइ थियो। उनले भने, ‘प्रधानमन्त्रीज्यूले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिनुभएको छ। एक वर्षमै तीन पटक विश्वासको मत लिनुपर्ने भएपछि प्रधानमन्त्री नै स्थिर भएको देखिएन। अस्थिरताको पक्षपाति नै प्रधानमन्त्री हुनुभएको जस्तो देखिएको छ। र गठबन्धनको नेतृत्व गर्ने सन्दर्भमा प्रधानमन्त्री सफल देखिनु भएको छैन। खासगरी के हुन्छ भने गठबन्धनमा नेतृत्व गरेको दलले अथवा प्रधानमन्त्रीको कारणले गठबन्धन टुट्दैन। गठबन्धनमा आवद्ध अरुको कारणले गठबन्धन टुट्ने गर्छ। तर अहिले र यो भन्दा अगाडि के भएको छ भने प्रधानमन्त्री जो सरकारको नेतृत्व गर्नुहुन्छ, गठबन्धनको नेतृत्व गर्नुहुन्छ, उहाँकै कारणले गठबन्धन पटक–पटक तोडिएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।