काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट तेस्रो पटक विश्वासको मत पाएसँगै आफ्नो जिम्मेवारी अझै बढेको प्रतिक्रिया दिएका छन्।
बुधबार संसद्मा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिएका हुन्।
उनले राष्ट्र र जनताको पक्षमा राम्रो काम तीव्र गतिमा पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको बताए। उनले काँधमा जिम्मेवारी थपिएको उल्लेख गर्दै संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत पाएको दाबी गरे।
उनले भने, ‘आजको संसद्मा जिवन्त रुपले लोकतान्त्रिक अभ्यास भयो, बडो राम्रो संयमित वातावरणमा। यसले हाम्रो लोकतन्त्र अझ सजिव बनेको छ। अझ सुदृढ बनेको छ भन्ने मैले महशुस गरेको छु। मलाई प्रधानमन्त्रीको रुपमा जसरी विश्वासको मत प्राप्त भएको छ। तीन पटक, तीनवटा अलग अलग अनुभूति र अलग–अलग अनुभव पनि भए। पहिलो पटकको अनुभव मैले पुरानै गठबन्धनबाट नै प्रधानमन्त्री बन्ने अन्तिम तयारी गरेको बेलामा नै अन्तिम घडीमा बालकोटमा गएर केपी ओलीजी लगायतको समर्थनमा म प्रधानमन्त्री बने। दोस्रो पटक पुरानै गठबन्धनमा फर्किएपछि झन्डैझन्डै शतप्रतिशत समर्थन मलाई प्राप्त भयो। विश्वासको मत यो रुपमा सदनबाट दुईजना छोडेर बाँकी सबैको समर्थन प्राप्त हुनेकुरा पनि नेपालको इतिहासमा एउटा असाधारण र अभुतपूर्व परिघटना थियो। मैले त्यो अनुभूति पनि गरेँ। सम्पूर्ण सदनको नै समर्थन हुँदा कस्तो हुँदोरहेछ नेतृत्वलाई भन्ने कुराको सकारात्मक, सुखद अनुभूति पनि गरेँ। आज फेरी नयाँ राजनीतिक समिकरणसहित विश्वासको मत लिदाँखेरीको अनुभव अझ बढी लोकतान्त्रिक ढंगले सजिव रह्यो। मेरो जिम्मेवारी अझ बढेको छ। राष्ट्र र जनताको पक्षमा राम्रा काम तिव्र गतिमा पुरा गर्ने, अगाडी बढाउने जिम्मेवारी हो यो। मेरो काँधमा जिम्मेवारी थपिएको छ। म सदनप्रति आभार व्यक्त गर्न चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।