काठमाडौं– प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभा बैठकमा हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा चैत ६ गते बोलाइएको बैठकमा सो कार्यक्रम हुने जानकारी दिएका हुन्।
उनले त्यस कार्यक्रमका लागि यही चैत २ गते शुक्रबार अपरान्ह ३ बजेसम्म प्रधानमन्त्रीलाई सोध्ने प्रश्न संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय समक्ष बुझाउन पनि सांसदहरुलाई निर्देशन दिए।
सभामुख घिमिरले भने, ‘प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम यही २०८० चैत ६ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको व्यहोरा जानकारी गराउँछु। साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ४ मा रहेका माननीय सदस्यहरुले यस पटक प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम मिति २०८० चैत्र २ गते शुक्रवार दिनको ३ बजे भित्र संघीय संसदको महासचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा दिइसक्नुपर्ने व्यहोरा समेत जानकारी गराउन चाहन्छु।’
प्रतिनिधि सभाको अर्को बैठक चैत १ गते बिहीबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।