काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन्। बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताए। उनले जनताले हामीलाई दिएको विश्वासको मतलाई नेताहरुले बचाउन नसकेको बताए। अहिलेको संसद्को गन्थनमन्थनबाट जनताले केही पाउन नसकेको उनको भनाइ थियो।
उनले भने, ‘जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन सकेनौं। कहिले यता, कहिले उता हाल्नुपरेको छ। विश्वासको मत प्रत्यक्ष रुपमा जनताको हातमा सुम्पौं। र जनताले नै प्रत्यक्ष रुपमा निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौं। अहिले बनेको गठबन्धनमा सैद्धान्तिक धरातल नै छ भनेर भन्न सकिँदैन। किनभने एउटा दलले भनेर जानुभयो, उहाँ नवउदारवादमा विश्वास गर्नुहुन्छ। जनताले यसबाट के पायो।’
अध्यक्ष राउतले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै मधेसीहरुलाई राज्यले हत्या गर्दा नबोलेकोप्रति आपत्ति जनाए। उनले जनता समाजवादी पार्टी, नेपालप्रति लक्षित गर्दै गौर नरसंहारमा विभत्स हत्या गर्ने व्यक्तिहरुसँगै अहिले गठबन्धनमा बसेको रास्वपाले उनीहरुलाई कारबाही गर्ने ल्याकत राख्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।