काठमाडौ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्याको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभालाई बुधबार सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए।
‘यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ। राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट। उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीवाट। सभामुख हुनुहुन्छ, नेकपा (एमाले)को पृष्ठभूमिबाट।’
उनले आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुने बताउँदै सरकार गठनमा सहभागी दलहरूबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।