काठमाडौं– कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पालिकाहरु सुरुको ६ महिनामा प्रक्रियामा अल्झिन पुग्नाले लक्ष्य अनुरुपको नतिजा निकाल्न नसकिरहेको अवस्थामा रहेको बताएका छन्।
जिल्ला समन्वय समिति पर्वतको अर्धवार्षिक समीक्षा कार्यक्रममा मंगलबार बोल्दै उनले यस्तो बताएका हुन्। उनले यसमा सुधार गरेर सम्पूर्ण प्रक्रियाहरुलाई आर्थिक वर्षको सुरुको तीन महिनामा नै सकेर सोको कार्यान्वयनमा जानुपर्ने धारणा राखे।
‘हामी अहिले अर्धवार्षिक समीक्षाको वैठकमा छौं। हाम्रो समस्या के छ भने सुरुको ६ महिना प्रक्रियामै अल्झने, पूँजिगत खर्च अत्यन्त न्यून हुने, र प्रक्रियामै हाम्रो समय गुज्रिने । विगतदेखिको अभ्यास यही हो। जब आर्थिक वर्ष सकिन थाल्छ त्यसपछि हामी हतारहतारमा बजेट सक्नुपर्ने अवस्थालाई हेर्दै काम गर्ने गरेका छौं’, उनले भने।
यसले कामहरु गुणस्तरीय हुन नसकेको मन्त्री गिरीको भनाइ छ। ‘हाम्रो यस्तो विगतको अभ्यासहरुले गर्दाखेरी काममा गणस्तरियता कायम गर्न नसकिएको अवस्था छ। हाम्रा कामहरु गुणस्तरको नभएका गुनासाहरु व्याप्त छन्’, उनले भने ‘यसतर्फ हामीले योपटक सोच्नुपर्छ र समयमा नै हाम्रा क्वाटर्ली फ्लानहरु बनाउनुपर्छ। पहिलो क्वाटरमा हामीले सम्झौता गर्नेदेखि प्रक्रियागत कुराहरु सक्ने। भनेको मतलब साउन, भदौ कार्तिकसम्ममा सबै काम सक्ने।’
उनले त्यसपछि मंसिरको १ गतेबाट गेयर बदलेर काम गर्न पालिका प्रमुखमा उपस्थित जनप्रतिनिधि ताथा विभिन्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे। यस किसिमले काम गरेमा लक्ष्य प्राप्त गर्न सक्ने भनाइ राख्दै उनले विगतमा उपलब्धिहरु लक्ष्य अनुसार हासिल गर्न नसकेको स्मरण गराए। यसैगरी भौतिक विकासले मात्र समाज र जनताको भलो नगर्ने भएकाले मानवीय विकासलाई पनि उत्तिकै ध्यान दिनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।