बैतडी– नेकपा एमाले बैतडीको अध्यक्षमा नरेश कुमार विक चयन भएका छन्। एमालेको नवौं जिल्ला अधिवेशनले विकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
यस्तै पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन्।
पाटनमा सम्पन्न नवाँ अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। सुदूरपरिश्चम पहिलो दलित अध्यक्ष विक एमालेको जिल्ला हाक्ने सुदूरपरिश्चममै पहिलो दलित अध्यक्ष भएका छन्।
अध्यक्ष पदका आकांक्षीहरुबीचमा सहमति गर्दै विकले अध्यक्ष पद हात पारेका छन्। एमालेका केन्द्रीय सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी निकट मानिने विक २०४६ सालदेखि नै कम्युनिष्ट पार्टीमा आबद्ध रहेका छन्।
अध्यक्षमा निर्वाचित भएसँगै पाटन नगरपालिका ५ ओदाली घर भएका ४९ वर्षीय विकले दलित समुदायबाट एमाले बैतडीको नेतृत्व हाँक्ने पहिलो व्यक्तिको रुपमासमेत पहिचान बनाएका छन्।
२०५३ सालमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भइसकेका विक एमालेको जिल्लाको कमिटी सदस्यका साथै अञ्चल कमिटी सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनले तत्कालिन निर्वाचन क्षेत्र नं १ को क्षेत्रीय कमिटीको अध्यक्षको रुपमासमेत काम गरिसकेका छन्।
एमालेको जनवर्गीय संगठन मुक्ति समाज नेपालको केन्द्रीय सचिवसमेत रहेका विक केपी ओली प्रधानमन्त्री भएको बेला राष्ट्रिय भूमि आयोग जिल्ला समिति बैतडीको अध्यक्षसमेत बनेका थिए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेकातर्फबाट पाटन नगरपालिकामा नगर प्रमुख उम्मेदवार बनेका विक त्यो बेला पराजित भएका थिए।
निरन्तर एमालेको राजनीतिमा रहेका विकले पार्टीलाई आफ्नो कार्यकालमा अझै बलियो बनाउने दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।