काठमाडौं- सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिल खोलेर विश्वासको मत दिन आफ्ना सांसदहरूलाई आग्रह गरेका छन्। मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले बिना हिचकिचाहट मत दिन सांसदहरूलाई आग्रह गरेका हुन्।
‘हामी एकदम खुलेर, दिल खोलेर भोलि बिना हिचकिचाहट, मनको कुनामा कतै नराखेर, सकारात्मक कदम हो, त्यसकारण विश्वासको मत दिन्छौं। विश्वासको मतमा हामी सम्पूर्ण प्रतिनिधि सभाका सदस्यहरू उपस्थिति हुनेछौं। सम्पूर्णले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि यस प्रतिनिधि सभाको विश्वास छ भन्ने पक्षमा मतदान गर्नेछौं। यो पार्टीको तर्फबाट कमरेडहरूलाई निर्देश र आदेश पनि हो’, उनले भने।
ओलीले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउँदा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भएकाले पनि प्रचण्डलाई नै विश्वासको मत दिनुपर्ने बताएका थिए। उनले प्रचण्डले विश्वासको मत नपाउँदा देश ठूलो असफलतामा जाने बताए।
‘यो बेस्ट अप्सन हो कि होइन भन्ने कुरा छाडिदिऔं। यतिबेलाको अर्को कुनै अप्सन छैन। दुइटा मात्रै अप्सन हो। कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ। यसले जित्छ र यो चल्छ। कि त ७६ (३) अनुसार नेपाली कांग्रेसको अल्पमतको सरकार बन्छ भोलि। दुइटामध्ये एउटा कुरा हुन्छ भोलि। अल्पमतको सरकार बन्ने जस्तो देशलाई दुर्घटनामा लैजाने काम हुन दिनुहुँदैन’, उनले भने।
देउवाको नेतृत्वमा सरकार बन्ने स्थिति आउँदा त्यो सरकार अल्पमतको, अयोग्य, दृष्टिकोणविहीन, परमुखापेक्षी, स्वाभिमानहीन, भवितव्यले आइलागेको, कुनै संकल्प केही नभएको सरकार बन्ने ओलीको भनाइ थियो।
‘त्यस्तो बन्न दिनुहुँदैन। त्यसकारण भोलि, त्यस परिस्थितिबाट देशलाई जोगाउनका लागि, अस्थिरतातर्फ जान जोगाउनका लागि र भिजनहीन, कमिटमेन्टहीन, केही नभएको, अर्जुनले चराको आँखा मात्रै देखे जस्तो, सरकार मात्रै देख्ने, अरु केही थाहा नपाउने, यस्तो पार्टी, त्यस्ता नेताका नेतृत्वमा, अल्पमतको सरकार बन्यो भने देश कता जान्छ?’, उनको प्रश्न थियो।
उनले पहिलेपहिलेका कुरामा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुन सक्ने भए पनि अहिले भने एकदम राम्रो काम गरेको बताए। ‘एकदम अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनुभयो। कमसेकम एक डेढ वर्षलाई उहाँको पद कुनै खतरामा थिएन। चलेकै थियो। तर एक डेढ वर्ष पदमा बसिरहनु, चल्नु मात्रै होइन’, ओलीले भने, ‘देश अप्ठ्यारोमा पर्यो भन्ने रियलाइजेसन गरेर उहाँले फरक ढंगले कदम चाल्नुभएको छ।’
ओलीले अहिलेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले चालेको कदम सकारात्मक भएको मूल्यांकन प्रस्तुत गरे। भने, ‘नयाँ देशभक्त, प्रगतिशील, समाजवाद उन्मुख, जनमुखी यस्तो नयाँ समीकरण निर्माण गर्ने प्रधानमन्त्रीको जुन पहल हो, यो स्वागतयोग्य हो’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।