काठमाडौं- सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको दाबी गरेका छन्। नयाँ सत्ता समीकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्व परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले बाह्य शक्तिको दौडधुप बिना नै नयाँ सत्ता समीकरण बनेको दाबी गरे।
उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरुले, स्वदेशकै खेलाडीहरुले अप्रत्यासित आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समीकरणलाई टिकाउने कुरा चुनौतीको रुपमा रहेको समेत स्वीकार गरे।
उनले बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्सन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरु ठूलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताए।
एमाले उपमहासचिव ज्ञवालीले भने, ‘गएको एक वर्षमा देशले धेरै नै मूल्य चुकायो। पछिल्लो समय नेकपा माओवादी केन्द्रले, प्रधानमन्त्री स्वयंले त्यो बोध गर्नुभयो कि अब यो बाटोबाट अगाडि बढ्न सकिँदैन। हामीले गरेका केही सचेतन प्रयास र उहाँहरु भित्र पनि अब नेपाली कांग्रेससँगको सहकार्य सुविधाजनक छैन। र, यसले कुनै पनि परिणाम दिँदैन भन्ने भएपछि उहाँहरु पनि नयाँ सहकार्यमा जोडिन तयार हुनुभयो।’
विगतमा जस्तो बाह्य शक्तिहरुको दौडधुप बिना नै एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी सहकार्य गर्ने निर्णय भएको उनले बताए। ‘स्वदेशकै पात्रहरुले, स्वदेशकै प्लेयरहरुले निर्माण गरेको एउटा सहकार्य हो यो। अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौती हामीसँग छ,’ ज्ञवालीले भने।
अहिले देशको परिस्थिति धेरै गम्भीर रहेको बताउँदै उनले यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढिरहेको दाबी गरे।
एमाले उपमहासचिव ज्ञवालीले कांग्रेसले देशको पक्षमा कुनै परिणाममुखी काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेसँगको सहकार्यका लागि तयार भएको दोहोर्याए।
-न्युज एजेन्सी नेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।