काठमाडौं- सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरभन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताएका छन्। सोमबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने उल्लेख गरे।
आफू राष्ट्रपतिबाट मनोनित सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रुपमा नरहेको उल्लेख गर्दै कानुन अनुरुप चल्नुपर्ने कुरामा मानसिक रुपमा तयार भएको उनको भनाइ थियो। राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरुपको स्तरमा पुर्याउन आफ्नो भूमिका हुने दाहालले बताए।
समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरुलाई एकतावद्ध बनाएर लैजाने पनि उल्लेख गर्दै उनले तत्काल बनाउनुपर्ने कानुनहरुमा ध्यान दिइने बताए।
दाहालले भने, ‘कतिपय अपूरा कामहरु छन्, त्यसलाई पूरा गर्नुपर्ने छ। विशेषगरी अहिले तत्काललाई केही विधेयकहरु पास गर्नु छ। कानुनहरु बनाउनु छ। त्यस विषयमा गम्भीरताका साथ छलफल पनि भइराखेकै छ। पहिले त्यता ध्यान दिनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।