काठमाडौं- राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका छन्।
सत्तापक्षका उम्मेदवार दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीप्रसाद सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल र जनता समाजवादीका मोहम्मद खालिद रहेका छन्।
यसैगरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना तथा समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह रहेका छन्।
मंगलबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएको हो। उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्याइएको थियो।
सोमबार दिउँसो नै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ।
सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष पाउने समझदारी भएको थियो। गत सोमबार उनीहरूले आठ बुँदे समझदारी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।