इटहरी– महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी अमेरिका भ्रमण त्यागेर आफ्नो निर्वाचन क्षेत्रमा पुगेकी छिन्। यूएन वुमनको विश्वस्तरीय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो।
११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो। तर, मन्त्री चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्लाको आएकी छन्। दुहबी १० मा रहेको आपुरुपी शिव मन्दिरमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन मन्त्री चौधरी गृह जिल्ला आएकी हुन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै मन्त्री चौधरीले सरकार अविछिन्न उत्तराधिकार वाला हुने भन्दै अघिल्लो सरकारले गरेको निर्णय बमोजिम पूर्व निर्धारित कार्यक्रममा आफू जाने तय भए पनि आफू नगएको बताइन्। मन्त्री नगए पनि भ्रमण दलका अन्य सदस्य भने आज राति अमेरिका उड्दैछन्। प्रतिनिधि मण्डलको नेतृत्व कर्मचारीले गर्ने र मन्त्री स्तरको हुने भनिएको कार्यक्रम कर्मचारी स्तरमा नै गर्न आदेश दिएर आफू गृह जिल्ला आएको मन्त्रीको भनाइ थियो।
‘यो कार्यक्रममा विश्वका सबै देशहरूबाट महिला मन्त्रीहरूकै नेतृत्वमा सहभागी हुने गर्छन्। महिलाका आर्थिक, सामाजिक, राजनैतिक विभेद, समस्या लगायतमा विचार विमर्श गर्दै हरेक देशले हासिल गरेका उपलब्धीहरू त्यहाँ प्रस्तुत हुन्छ। यस्तो कार्यक्रम विगतदेखि नै मन्त्रीस्तरीय नेतृत्व हुने प्रचलन छ’, उनले भनिन्। आफूले कुनै जम्बो टोली तयार नपारेको प्रष्टयाउँदै निवर्तमान मन्त्रिपरिषद्ले गरेको निर्णयमा मन्त्रीको स्थानमा आफ्नो नाम मात्र राखेर वर्तमान मन्त्रिपरिषद्ले निर्णय गरेको भन्दै मन्त्री चौधरीले बताइन्।
साथै, उनले पहिलाको टोलीमा २२ जनाको नाम भए पनि अहिलेको टोलीमा ११ जनाको मात्र नाम भएको जनाइन्। उक्त अवसरमा मन्त्री चौधरीले यो गठबन्धन २०८४ साल सम्मै नै जाने दाबी समेत गरिन्। ‘वर्तमान गठबन्धन सरकार चार वर्ष टिक्छ। यसका लागि गठबन्धनमा रहने सबै दलहरू र शीर्ष नेतृत्व प्रतिबद्ध हुनुहुन्छ,’ मन्त्री चौधरीले नयाँ गठबन्धन तोड्ने कसरत भइरहे पनि त्यस्ता व्यक्तिहरू सफल नहुने भन्दै भनिन्।
साथै, विगतका सरकारले महिला विभाग र महिलाका समस्या हेर्ने संरचना खारेज गरेकोमा आफू पुनः ती संरचनाहरू पुनर्स्थापनाका पक्षमा रहेको पनि बताइन्। ‘दिनदिँनै महिलाहरू हिंसाको शिकार भइरहेका छन्। बलात्कृत भइरहेका छन्। उत्पीडनमा परेका छन्। उनीहरूको पक्षमा बोलिदिने संरचना छैन। म महिलाका सबै खाले उत्पीडन, हिंसाको विरूद्धमा जिल्ला तहमै बोलिदिने संरचना बनाउनुपर्छ भन्नेमा छु। त्यसका लागि लागि पर्नेछु,’ चौधरीले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।