काठमाडौं– सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समिकरणले पार्टी सिध्याउने अभियान टुटेको दाबी गरेका छन्।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले देशभित्र र बाहिरका केही शक्तिहरुले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको कांग्रेस नेतृत्वको अपराधिक गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरु सफल भएकाले यसलाई सकारात्मक रुपमा लिएको पनि बताए।
शनिबार पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ५ को १२ औं अधिवेशनमा बोल्दै उनले नयाँ सत्ता समिकरणलाई पनि मिशन–२०८४ पूरा गर्न सहयोगीको रुपमा प्रयोग गर्ने योजना समेत सार्वजनिक गरे।
वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पु¥याउने लक्ष्यसहित अघि बढाएको मिसन २०८४ जारी रहने र त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको बताए।
उनले नयाँ सत्ता समिकरणमार्फत् मुलुकको बेथितितर्फ गईरहेको राजनीतिलाई सही दिशामा ल्याउन सक्दो कोशिस गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचारविरोधी अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।