काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार ३ बजे बस्ने भएको छ। बैठक दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने र अन्य अजेण्डा पनि रहेको उनले बताए। त्यस्तै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले सांसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल गर्ने तयारी छ।
२१ गते प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ।
प्रधानमन्त्री प्रचण्ड जतिसक्दो छिटो प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारीमा छन्। यसबारे माओवादीले आजको दलको बैठकमा छलफल गरेर निर्णय लिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।