काठमाडौं– नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन्।
शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन्। उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन्।
उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको दाबीसमेत गरिन्। उनले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएको जिकिर गरिन्।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभुति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने दाबी गरिन्।
उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको पनि बताइन्। उनले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने दाबी गरिन्। दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्याउनुपर्ने उनको भनाइ थियो।
उनले भनिन्, ‘यो बढी सजातिय भएको छ । राजनीतिक दल भनेको त वर्गको प्रतिनिधित्व गर्ने हो। हामी सर्वहारा, श्रमिक, श्रमजिवी जनता, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति वर्गको हितमा काम गर्ने पार्टी। एकथरी सामन्त, जमिनदार, दलाल पुँजीपति वर्गको नेतृत्व गर्ने पार्टी। त्यसो हुँदाखेरी स्वार्थ बाझ्ने र परिणाम केही नआउने। तर अहिले आउँदा अलि सजातिय। वामपन्थीहरुको बाहुल्यता छ। अर्को कुरा, दीर्घकालमा एउटै देशमा दुईवटा कम्युनिस्ट पार्टी समानान्तर ढंगले जान सक्दैन।’
उपाध्यक्ष भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्ने बताइन्। उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान बनाउँदै लानुपर्नेमा जोड दिइन्।
संविधानले दिएका सबै अधिकारहरुलाई कार्यान्वयन गर्न लाग्नुपर्ने उनको भनाइ छ। भुसालले महिलालाई पैत्रिक सम्पत्तिको मालिक बनाउने अजेण्डासहित अगाडि बढ्नुपर्ने बताइन्। महिलालाई आर्थिक अधिकार दिनुपर्ने कुरालाई पहिले आफ्नै पार्टीपंक्तिमा लागू गर्दै जानुपर्ने र देशव्यापी रुपमा अभियान सञ्चालन गर्नुपर्ने उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।