काठमाडौँ- नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने बताएका छन्। उनले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा प्रतिबद्धता व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमितिसँग विद्यमान आर्थिक समस्या समाधानको विषयमा सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आज भएको छलफलमा मन्त्री पुनले कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगरिने बताए। निजी क्षेत्रमाथि धरपकड भइरहेको प्रसङ्गमा उनले पहिला अनुसन्धान पूरा नगरी थुन्ने वातावरणको अन्त्य गर्न सम्बन्धित निकायसँग समन्वय गरिने उल्लेख गरे।
‘गल्ती गर्नेले सजाय पाउँछ। तर कोही व्यक्तिले गल्ती गर्दैमा पूरै समुदायलाई नराम्रो भन्न हुँदैन। राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो,’ मन्त्री पुनले भने।
सो अवसरमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउँदै साना शहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुनःकर्जा सुविधा विस्तार गर्नुपर्नेमा जोड दिए। सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न नसकेको उनले बताए।
अध्यक्ष ढकालले भने, ‘त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ।’ निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि उहाँले मन्त्री पुन समक्ष आग्रह गरे।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।