काठमाडौं- नयाँ गठबन्धनको आयुबारे शंका गरेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलले जवाफ फर्काएका छन्। बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्दै पौडेलले इतिहास सेलरोटी जस्तो नघुम्ने बताए।
‘यो सरकारको स्थायित्वका बारेमा, यसका भविष्यका बारेमा पूर्वानुमान प्रक्षेपण गरेर जानुभएको छ रमेशजीले। म भन्न चाहन्छु, इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन। इतिहास स्प्रिङ जस्तो घुम्छ’, उनले भने।
उनले हिजो आफूहरूले जे गरेका थियौं, अब पनि त्यही गर्छौं भनेर आशा नगर्न लेखकलाई आग्रह गरे। ‘अहिले सुरु भएको नयाँ सहयात्रा, यसले प्रतिनिधि सभाको यो कार्यकाल पूरा गर्नेछ’, उनले भने, ‘यो स्वार्थको लेनदेनमा आधारित सहयात्रा होइन।’
उनले अहिलेको सहयात्रा अवसरका निम्ति नगरिएको बताए। भने, ‘जनता र राष्ट्रका समस्याहरूलाई केन्द्रमा राखेर तिनका समाधान गर्ने उद्देश्यमा आधारित सहयात्रा हो। विगतमा अनुभवबाट यथेष्ट मात्रामा शिक्षा लिएर आरम्भ गरिएको सहयात्रा हो। त्यसैले यो दुर्घटनामा पर्छ कि भनेर आशंका नगरे हुन्छ। दुर्घटनामा परोस् भनेर कसैले अपेक्षा पनि नगरे हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।