काठमाडौं– केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपसँगै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीलाई बर्खास्त गरेका छन्।
दुईदिन अघि मात्रै माओवादीका मन्त्री बर्खास्त गरेका मुख्यमन्त्री शाहले आज एकीकृत समाजवादीका मन्त्रीलाई पनि बर्खास्त गरेका हुन्। एकीकृत समाजवादीबाट आर्थिक मामिलामन्त्री नरेशकुमार शाही थिए।
यसअघि माओवादीबाट सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई हटाएका थिए।
एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उसका मन्त्रीलाई बर्खास्त गरिएको हो। यससँगै सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ। कांग्रेसका १८ र नागरिक उन्मुक्तिका सात सांसद छन्। सरकार गठनको लागी २७ आवश्यक पर्छ। अब सरकारमा २५ सांसदको मात्रै समर्थन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।