काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा आफ्ना मन्त्रीहरुको नाम तत्काल नपठाउने भएको छ। कार्यकारिणी समिति बैठक सरकारमा पठाउने मन्त्रीका विषयमा कुनै निर्णय नगरी केही समय पर्ख र हेरको नीतिमा बस्ने भएको छ।
सोमबारदेखि लगातार बसिरहेको कार्यकारिणीको तेस्रो बैठक मन्त्री छनोट नगरी सकिएको एक नेताले जानकारी दिए। ‘जसपाले तत्काल सरकारमा मन्त्री पठाउँदैन। हामी मधेशको सरकार निरन्तर हुनुपर्ने सुनिश्चितता खोजिरहेका छौं’, जसपाका एक नेताले भने।
बैठकमा सहभागी ती नेताका अनुसार गठबन्धनमा सहभागी हुने निर्णय गर्दा भागबण्डाको विषय पनि टुंग्याउन सुझाव दिएको, तर अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुने मात्रै निर्णय गरेको भनेर बैठकमा नेताहरूले असन्तुष्टि जनाएका छन्।
यादवले आफू भने सरकारमा नजाने र अरु कसैको नेतृत्वमा सरकारमा पठाउने बताएका छन्। मंगलबार बसेको बैठकमा पनि अहिलेकै अवस्थामा सरकारमा जान हतार हुने र मधेश प्रदेश सरकार आफ्नो हातबाट गुम्ने भन्दै नेताहरूले गठबन्धनको सुनिश्चितता हुन दिनुपर्ने राय अध्यक्ष यादवले राखेका थिए।
उनको रायमा सहमति भएपछि आजै वा भोली हुने शपथमा जसपाका मन्त्रीहरु सहभागी नहुने भएका छन्।
बुधबार बसेको बैठकमा अध्यक्ष यादवले मन्त्रिपरिषद्मा पठाउने नेताको नाम चयन गर्नुभन्दा पहिले मधेश प्रदेशको सरकार र संघीय सरकारमा पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने बारेमा अन्तिम निर्णय गर्नुपर्ने तर्क राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।