काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले राप्रपाले आन्दोलन सुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन भन्दा झन आफूहरुको लागि अनुकुल बन्दै आएको बताए।
उनले अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको बताए। अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने उनको भनाइ थियो।
उनले राप्रपाको व्यवस्था परिवर्तन मुल मुद्दा रहेको बताए। उनले भने, ‘हामीले आन्दोलनको सुरुवात गर्यौं, त्यस बेलादेखि यहाँ आइपुग्दासम्म परिस्थिति झन भन्दा झन हाम्रो लागि अनुकुल बन्दै आएको छ। आन्दोलनका लागि ठिक वातावरण बनेको छ। हामीले भनेका थियौं की, अहिले नेतृत्व मात्रै होइन, व्यवस्था नै असफल भइसक्यो मान्छे फेरेर मात्रामा फरक पर्ला, अलि राम्रो मान्छे भयो भने अलि राम्रो होला। तर यो व्यवस्था नै त्यस्तो छ की यो व्यवस्था रहेसम्म हामीले सुशासन, विकास र समृद्धिको कल्पना गर्न सक्दैनौं।’
अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले उठाएको मुद्दा ठिक रहेछन् भन्नेकुरा जनतालाई लागेको बताए। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले भनेका कुरा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताका पक्षधरहरुले प्रमाणित गरिदिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।