काठमाडौं– भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो।
फागुन १० गते जिल्ला तेह्रथुमका छथर गाउँपालिका वडा नम्बर २ घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ को गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान् हराएको र श्रीमान चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिइ आउनु भनी आफूलाई फोन आएको भन्दै प्रहरी वृत्त जगातीमा उपस्थित भएर सूचना दिएकी थिइन्।
त्यसपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा ११ गते भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ स्थित रोदन बस्नेतको गोठमा ढकाल मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। परिसरका प्रहरी निरीक्षक निर्मल थापाले घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का वर्ष २९ को सन्तोष सुवाल रहेको बताए। खोजतलासका क्रममा शनिबार उनलाई काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–६ बाट मा पक्राउ गरिएको बताए।
पत्रकार सम्मेलनका क्रममा इन्सपेक्टर थापाले भने, ‘फागुन १० गते गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान् हराएको र श्रीमान् चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिइ आउनु भनी आफूलाई फोन आएको भनेर प्रहरी वृत्त जगातीमा उपस्थित भएर सूचना दिनुभएको थियो। त्यसको खोज तलासका क्रममा फागुन ११ गते भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ स्थित रोदन बस्नेतको गोठमा ढकाल मृत अवस्थामा फेला परे। उक्त घटनाको अनुसन्धान गर्दै जाँदा २९ वर्षीय सन्तोष सुवाल रहेको भन्ने कुरा सुन्न आयो। खोजतलासका क्रममा शनिबार निजलाई काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–६ बाट पक्राउ गरिएको छ। उनी बाइक मेकानिक रहेछन्। उनको साथबाट मृतकको मोबाइल र फोटोमा देखिएको ज्याकेट बरामद गरेका छौं। यसअघि चोरी सम्बन्धी कसुरमा २०७८ मा मुद्दा चलेको र २०७५ मा अभद्र व्यवहारको मुद्दा चलेको रहेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।