काठमाडौं- व्यक्ति हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ का २९ वर्षीय सन्तोष सुवाल छन्।
तेह्रथुम छथर गाउँपालिका-२ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या गरी फरार रहेको अभियोगमा सुवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ढकालकी श्रीमती रेनु ढकालले आफ्नो श्रीमान् हराएको र श्रीमान् चाहिएमा सूर्यविनायकको जंगलमा २ लाख रुपैयाँ लिएर आउनु भनी फोनमा धम्की आएको भन्दै प्रहरी वृत्त जगातीमा उजुरी गरेकी थिइन्।
प्रहरीले ढकालको शव यही फागुन ११ गते सूर्यविनायक नगरपालिका-८ स्थित रोधन बस्नेतको गोठमा फेला पारेको थियो।
श्रीमती ढकालले दिएको उजुरीका आधारमा खोजी गर्दै जाँदा सुवाललाई काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-६ बाट शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुवालको साथबाट मृतकको मोबाइल समेत फेला परेको छ। उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।