कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सर्वसाधारण नागरिक तथा पर्यटकहरुलाई हैरानी दिने ९ जनालाई पक्राउ गरेको छ।
मंगलबार पोखरा महानगरपालिका–९ पृथ्वीचोक, मुस्ताङ चोक स्थितमा सर्वसाधरण महिला तथा पुरुषहरु र अन्यत्र स्थानबाट आएका पर्यटकहरुलाई हैरान पारेको आरोमा उनीहरुलाई पक्राउ गरिएको हो।
पर्यटक तथा यात्रुहरुलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनी झोलाहरु तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दु:ख हैरानीसमेत दिई अभद्र व्यवहार गर्ने उनीहरुलाई पक्राउ गरी उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा दिन पाँच दिन म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ।
पक्राउ पर्नेमा पोखरा–९ का ४० वर्षीय रुपेन्द्र श्रेष्ठ, ३२ वर्षीय मोहन आचार्य, ४० वर्षीय नारायण अधिकारी, ४४ वर्षीय श्याम प्रसाद शर्मा, २५ वर्षीय विकास कुंवर, २१ वर्षीय विमल ठकुरी, २१ वर्षीय विकास श्रेष्ठ, पोखरा–१३ बस्ने २८ वर्षीय रन्जन खड्का र वडा नम्बर १७ ड्यामसाइड बस्ने १९ वर्षीय सविन नेपाली रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।