काठमाडौं- चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये ४०६ जना पक्राउ परेका छन्। तीमध्ये पुरुष ३६० र महिला ४६ जना छन्। पक्राउ पर्नेमा ७ पुरुष र एक जना महिला विदेशी हुन्।
जम्मा पक्राउ परेकामध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालय अन्तर्गत २२, कोशी प्रदेशमा ८५, मधेसमा ५८, बागमतीमा ३२, गण्डकीमा ३२, लुम्बिनीमा ७९, कर्णालीमा ४९ र सुदूरपश्चिम प्रदेशमा ४९ जना रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षमा ७७ प्रतिशत अभियुक्त प्रारम्भिक अनुसन्धानकै चरणमा पक्राउ गर्न सफल भएको छ। अनुसन्धान निरन्तर चलिरहने भएको हुँदा अभियुक्त पक्राउ पर्ने सङ्ख्या बढ्दै जान्छ। आव २०७९/८० मा ७८, आव २०७८/७९ मा ७७, आव २०७७/७८ मा ७५, आव २०७६/७७ मा ८१ र आव २०७५/७६ मा ८२ प्रतिशत अभियुक्त पक्राउ गर्न सफल भएको थियो।
पछिल्लो पाँच वर्षको तथ्याङ्क विश्लेषण गर्दा कर्तव्य ज्यान मुद्दामा औषत ७९ प्रतिशत अभियुक्त पक्राउ परेका देखिएको छ। यसै सिलसिलामा सर्वश्वसहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखीका ७० वर्षीय सूर्यबहादुर दवाडी २१ वर्षपछि गत माघ १ गते पक्राउ परे। उनलाई अंशसम्बन्धी झगडामा श्रीमती सानुमाया दवाडीको हत्या गरेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा विसं २०६१ जेठ ५ गते जिल्ला अदालत धादिङले सर्वश्वसहित जन्मकैद फैसला गरेको थियो।
यसैगरी कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाँके नेपालगञ्जका ५५ वर्षीय मोहमद हाफिम खाँ १४ वर्षपछि मङ्सिर २० गते पक्राउ परे। उनलाई विसं २०६६ असार २२ गते जिल्ला अदालत बाँकेले १८ वर्ष कैद सजायको फैसला गरेको थियो। दवाडी र खाँ प्रतिनिधिपात्रमात्रै हुन्। उनीहरूजस्तै कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा संलग्न तथा फरार व्यक्ति पक्राउ पर्ने क्रम जारी छ।
नेपाल प्रहरीले अनुसन्धानलाई निरन्तरता दिने र खोजतलासलाई तीव्र पारेका कारण यस्ता अपराधी पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले जानकारी दिए।
यस प्रकार हरेक आर्थिक वर्षमा जघन्य अपराधको अनुसन्धानमा नेपाल प्रहरी सफल भएको देखिन्छ। यो सफलता प्राप्त हुनुमा प्रहरीको क्रियाशीलता नै प्रमुख कारण भएको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले बताए।
खुला सिमाना र विश्वव्यापीकरणका कारण केही त्यस्ता व्यक्ति फरार रहेको भएता पनि इन्टरपोलको सहयोगमा समेत केही फरार प्रतिवादीलाई पक्राउ गरी ल्याइएका प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको सूचना संयन्त्रको प्रयोग, प्रविधिको प्रयोग र योजना सहितको निरन्तरताको प्रयासका कारण कर्तव्य ज्यानलगायतका मुद्दाका प्रतिवादीमध्ये ठूलो प्रतिशतलाई पक्राउ गर्न सफल भएको छ भने यो पक्राउ दरलाई अधिकतम बनाउन प्रहरी सदैव क्रियाशील रहेको प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले जानकारी दिए।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।