काठमाडौं- चितवनको राप्ती नगरपालिका-३ झुरझुरेबाट करिब ५ सय ४४ किलो गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने ३२ वर्षीय रमेश नाथ दाहाल र कपिलवस्तु बुद्धभूमि नगरपालिका-४ बस्ने २५ वर्षीय शुसिराम थारू रहेका छन्।
इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको ना३ख ६१२२ नम्बरको ट्रक र ना३ख ७२४० नम्बरको डिब्बा ट्रकलाई जाँच गर्ने क्रममा डिब्बा ट्रकबाट ३९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो।
सोही ट्रकका चालक रमेश नाथ र ना३ख ६१२२ नम्बरको ट्रकका सहचालक शुसिरामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल फरार ना३ख ६१२२ नम्बरको ट्रकका चालकको प्रहरीले खोजी गरिरहेको छ।
यस्तै मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बोटबारीबाट करिब ७० किलो ६ सय ग्राम गाँजा सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानो भावर बस्ने ५० वर्षीय पूर्णबहादुर मोक्तान, २४ वर्षीय बावुलाल स्याङतान र हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङ बस्ने २४ वर्षीय आमोस पुलामी मगर रहेका छन्।
प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले परेवा भिरबाट पलासेतर्फ जाँदै गरेको प्रदेश ३-००१ ह ०१९६ नम्बरको अटोलाई रोक्न खोज्दा अटो नरोकी भाग्ने क्रममा पल्टिएको थियो। साथै अटोमा २ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अटो चालक भने फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।