काठमाडौं- नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक मंगलबारदेखि बस्दैछ। बैठक बिहान ११ बजे बस्ने तय भएको छ। एमालेको सातौँ केन्द्रीय कमिटी बैठक ८ देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ।
एमालेले बैठकको कार्यसूची तय गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए।
उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन्। साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ।
यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।