काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठकमा पेस हुने दस्तावेजमा छलफल चलिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका छन्।
पार्टीभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने विवाद चर्किरहेका बेला कांग्रेस सभापति देउवा पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका हुन्।
महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा प्रस्तुत गर्ने सांगठनिक दस्तावेजमा भविष्यमा कुनैपनि दलसँग चुनावी गठबन्धन नगर्ने उल्लेख छ। त्यसलाई लिएर सभापति देउवाले आपत्ति जनाउँदै दस्तावेज परिमार्जन गर्न दबाब दिइरहेका छन्।
महासमितिको उद्घाटन लगत्तै दस्तावेज परिमार्जनमा समझदारी बनाउन देउवा निवासमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक चलिरहँदा देउवा र खड्का बैठकको बीचबाटै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्। देउवा, दाहाल र खडकाबीच करिब आधा घण्टा कुराकानी गरेको बालुवाटार स्रोतले पुष्टि गरेको छ।
देउवाले महामन्त्री थापाको गठबन्धन नगर्ने प्रस्तावलाई सत्तासँग हेरिएको छ। उक्त प्रस्ताव पारित भएमा सत्ता गठबन्धनमै तलमाथि हुनसक्ने भय देउवामा रहेको छ।
त्यसैलाई लिएर देउवाले प्रधानमन्त्रीसँग गठबन्धनका विषयमा महासमितिमा जेजस्ता बहसहरु आए पनि सशंकित नहुन विश्वास दिलाएको स्रोतले बतायो।
‘गठबन्धनका बारेमा कांग्रेसको महासमिति बैठकमा उठेका प्रश्नहरुका बारेमा कांग्रेस सभापतिले प्रधानमन्त्रीलाई कुनै पनि शंका नगर्न आग्रह गर्नुभयो,’ बालुवाटार स्रोतले भन्यो,‘लामो कुराकानी भएन। तीन जनाबीच छोटो कुराकानी गरेर फर्कनु भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।