काठमाडौं– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचनामार्फत् जानकारी दिएको छ।
हिन्दू समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय पर्साले पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू आदेश जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुन लगायतका उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाएको छ।
रौतहट जिल्लाको इसनाथ नगरपालिकामा भएको विवादलाई लिएर हिन्दू समाजले वीरगन्जमा प्रदर्शन गर्दै बजार बन्द गराएको थियो। सोही क्रममा विवाद उत्पन्न भएपछि अवस्था सामान्य बनाउनका लागि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।