काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले भविष्यमा गर्ने गठबन्धनको विषयमा तत्कालीन परिस्थितिमा निर्णय गर्न सक्ने बताएका छन्।
महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गर्न लागेको सांगठनिक प्रस्तावमा उल्लेखित भविष्यमा गठबन्धन नगर्ने प्रस्तावप्रति आपत्ति जनाएका देउवाले बैठकको उद्घाटन समारोहबाटै कटाक्ष गरेका हुन्।
‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थिति अनुसारको गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विभिन्न ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिनसक्ने छ’, देउवाले भने।
थापाको प्रतिवेदनमा भविष्यमा गठबन्धन नगर्ने प्रस्ताव राखिएपछि त्यसलाई परिमार्जन गर्नका लागि देउवाले थापासँग छलफल गर्दै आएका छन्। दुवै पक्ष आ-आफ्नै अडानमा कायमै रहँदा थापाको प्रतिवेदनले अन्तिम रुप पाइसकेको छैन। थापा आफ्नो प्रस्तावमा सो विषय राखिछाड्ने अडानमा छन्।
सोमबार महासमिति बैठक सुरु भइसकेको छ। थापाको प्रस्ताव पेस हुनुअगावै देउवाले थापाको नाम र उनको प्रस्तावको चर्चै नगरी पार्टी सभापतिको धारणा प्रस्तुत गरेका हुन्।
देउवाले वर्तमान गठबन्धन आफूहरूकै अग्रसरतामा गठन भएको स्मरण गरे। संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उनले निर्वाचन पूर्वको गठबन्धन र वर्तमान सरकार त्यसकै निरन्तरता भएको प्रष्ट पारे।
उनले वर्तमान गठबन्धन आफूहरू सबैको अग्रसरतामा संविधान रक्षा गर्ने उद्देश्यले गठन भएकाले यसको निरन्तरता आफूहरू सबैको राजनीतिक जिम्मेवारी हुन गएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।