काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन्।
सोमबार उनले सरकारले केही दिनभित्रै राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन्। विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठन लगायत धेरै विषयमा सुधार गर्नुपर्ने भए पनि प्रधानमन्त्रीले पुनः गल्ती दोहोर्याएको उनको दाबी छ।
महामन्त्री थापाले उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको नियत नै ठीक नभएको जिकिर गरेका छन्। प्रधानमन्त्री दाहाललाई खुला प्रतिस्पर्धाबाट नै उपकुलपति चयन गरेको छु भन्ने सोचेर सबैलाई झुक्याएको जस्तो लागे पनि आफैं झुक्किरहेको थापाको टिप्पणी छ। उनले अहिले खुला प्रतिस्पर्धा भनिए पनि नियत भागबण्डाकै राखिएको दाबी गरे।
महामन्त्री थापाले प्रधानमन्त्रीले चाहेको खण्डमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने बताए। उनले प्रधानमन्त्रीले अहिले पाएको मौकाको सदुपयोग नगर्नु भनेको आफैं झुक्किनु रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।