काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको महासमिति बैठकमा बेग्लै प्रतिवेदन पेस गर्ने भएका छन्। उनको १२६ पृष्ठको प्रतिवेदन सार्वजनिक भएको छ।
महरले निर्वाचनमा कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख गरेका छन्। 'नेपाली कांग्रेसले आफ्नै सांगठनिक तागतमा अबदेखिका निर्वाचनमा एक्लै प्रतिस्पर्धामा होमिने,’ प्रतिवेदनमा संगठन, विकास र सुधारको प्रस्ताव अन्तर्गत भनिएको छ।
महामन्त्री गगन थापाले भविष्यमा कांग्रेसले अन्य पार्टीसँग चुनावी गठबन्धन नगर्ने भनेर तयार पारेको सांगठनिक प्रस्तावमा सभापति शेरबहादुर देउवाले आपत्ति जनाउँदै परिमार्जन गर्न दबाब दिइरहेका छन्। यही पृष्ठभूमिका देउवा पक्षकै नेता महरले महामन्त्री थापासँग मिल्दोजुल्दो प्रस्ताव अघि सारेका हुन्।
महरले स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गर्न पनि प्रस्ताव राख्ने भएका छन्। 'वडा अधिवेशनदेखि केन्द्रको महाधिवेशनसम्मका सबै सबै तहका अधिवेशन महाधिवेशनमा प्रतिनिधि बन्न अनिवार्य रुपले सम्बन्धित तहको निर्वाचन जितेर आउनुपर्ने व्यवस्था मिलाउने र स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गर्नु पर्दछ। यसबाट केन्द्रको जिम्मेवारी लिने नेता आम कार्यकर्ता र भूगोलप्रति बढी जिम्मेवार हुन्छ', सार्वजनिक प्रतिवेदनमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।