काठमाडाै- मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् । मधेश सरकारमा सहभागी भएकाे सिके राउत नेतृत्वकाे जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका हुन्।
विश्वासकाे मत लिनका लागि आइतबार २ बजे प्रदेश सभाको बैठक समेत बोलाइएको छ। सङ्घीय गठबन्धनको बैठक सम्पन्न भएसँगै मधेश प्रदेशका मुख्यमन्त्री यादवले ६ गते विश्वासको मत लिने निर्णय गरेकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
२०८० जेठ १ गते मधेश सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका थिए। सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुन नेपालको संविधान २०७२ को धारा १८८ को २ मा मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिन सक्ने प्रावधान छ।
मधेश प्रदेश सरकारमा १ सय ७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा (एमाले) को २३ सिट, नेपाली काँग्रेसको २२ सिट र जनता समाजवादी पार्टी नेपालको १८ सीट रहेको छ।
सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा (माओवादी केन्द्र) को ९ र नेकपा (एकीकृत समाजवादी) पार्टीको ७, नेपाल संघीय समाजवादी पार्टी १, नागरिक उन्मुक्ति पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिट र ३ स्वतन्त्र रहेका छन्।
मधेश प्रदेश सरकारमा जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेस, लोसपा, माओवादी केन्द्र र नेकपा (एस) रहेका छन्। चार दल मिलाउँदा ६५ जनाको समर्थन सरकारलाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।