फाइल तस्बिर म्याग्दी– म्याग्दीको विकट धवलागिरि गाउँपालिका–४ मुदीबगरकी एकजना गर्भवतीको आज हेलिकोप्टरमा उद्धार गरिएको छ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र धवलागिरि गाउँपालिकाको समन्वयमा बगरगाउँकी तुलसा बुढाथोकीलाई उद्धार गरिएको हो।
धवलागिरि गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बिहीबार साँझ ६ बजेदेखि प्रसूति ब्यथाले लागेपछि पेटमा रहेको बच्चाको धड्कन पनि अनियमित भएकाले तत्काल ‘एयरलिफ्ट’ गरेर पोखरा लगिएको बताइन्।
‘पाठेघर खुल्न विलम्ब, रक्तचाप कम हुँदै गएको र बच्चाको धड्कन अनियमित भएको हुँदा हेलिकप्टरमा पोखरा पठाएका थियौं’, उनले भनिन्, ‘पोखराको गण्डकी अस्पतालमा अपराह्न बुढाथोकी सुरक्षितरूपमा सुत्केरी हुनुभएको छ।’
आमा र बच्चाको अवस्था खतरामुक्त रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।