काठमाडौं– निता आचार्यको सधैं पहिलो रोजाइ रह्यो, सांगितिक साधना। परिस्थिति यस्तो बन्यो कि गायिका बन्ने बालसपना पूरा गर्ने समय जुर्न नै वर्षौं लाग्यो। कलेज टेकेको १ वर्ष पूरा नहुँदै झन्डै ३० वर्षअघि विवाह भएर अमेरिका पुगेकी उनलाई पारिवारिक जिम्मेवारीले गायिका बन्ने सपनामा ब्रेक लगाइरह्यो। तर, साधना भने उनले कहिल्यै छुटाइनन्।
त्यही साधनाको परिणाम गीत रेकर्ड गराएर गायिका बन्न उनको चाहना अहिले पूरा भइरहेको छ। २ वर्षअघि ३ वाटा गीत रेकर्ड गराएर उनले आफूलाई औपचारिक रुपमा गायनमा समाहित गरिन्। यसवर्ष ४ वटा गीत गाइन्। तीमध्ये ३ गीत ‘जिन्दगी त सँगै जिउने हो’, ‘गरिदेऊ बिदा’ र ‘झिमझिम परेली’ सार्वजनिक गरेकी छन्।
गायिका बनेको दिन नै उनका लागि सबैभन्दा आनन्ददायी पल थियो। सन् २०२० को त्यो एकदिन (जुनदिन उनको स्वरमा सजिएको गीत युट्युबमा आयो), उनको जीवनको सवैभन्दा खुसीको क्षण थियो। उनी सम्झिन्छिन्, ‘म त्यो बेला अति नै खुसी भएँ। भावुक भएँ। यति खुसी भएँ कि जीवनमा त्यति खुसी पहिले कहिल्यै भएकी थिइनँ। म पनि गर्न सक्ने रहेछु भनेर खुसी भएँ। त्यो दिन धित मर्नेगरी रोएँ।’
जीवनको अविस्मरणीय क्षणका रुपमा उनले त्यसलाई लिएकी छिन्। त्यही दिन प्रण गरिन्- अब म गीतसंगीतमा सक्रिय भएर लाग्छु। संगीत साधनामा निरन्तरता दिन्छु।
त्यो क्षण जुराइदिने उनका निकटस्थ साथी थिए। जसले उनले गीत गुनगुनाएको सुनिरहेका थिए। अमेरिकामा हुने नेपाली कार्यक्रममा निताले गीत गाउँथिन्। त्यसबाट उनले निताको गीत गाउने रुचिको परख गरेका थिए। त्यही साथी सर्कलमा साहित्यमा समेत रुचि भएका टीकाकुमार पुन थिए। जसलाई निता राम्रो वक्ता समेत भनेर प्रशंसा गर्छिन्। उनले नै भने, ‘म एउटा गीत लेखिदिन्छु। संगीत गराएर तपाईंको स्वरमा रेकर्ड गर्नुपर्यो।’
निताले संगीतका लागि बीबी अनुरागी रोजिन्। औपचारिक चिनजान थिएन। फेसबुकमा सम्पर्क गरेर उनले संगीतका लागि अनुरोध गरेकी थिइन्। अनुरागीले निताको चाहना बुझे र संगीत गरिदिए। अमेरिकामै गीत रेकर्ड भयो। गीत तयार भएपछि उनलाई लाग्यो- म पनि सक्ने रहिछु।
गायिका बन्ने सपना कक्षा ४ देखि नै बुन्न थालेकी हुन्। कन्या स्कुल लैनचौर पढेकी उनको संगिनीहरुसँग अन्तराक्षरी खेल्दा स्वरको पहिचान भयो। सधैं अन्तराक्षरी जित्न थालेपछि उनका साथीहरुले नयाँ शर्त तेर्स्याए- हरेक शुक्रबार गीत गाएर सुनाउने। उनले सहजै स्वीकारिन् । त्यसपछि शिक्षकहरुसम्म उनको स्वरको तारिफ पुग्यो । स्कुलका हरेक कार्यक्रममा गाउन थालिन्।
एसएलसी पास गर्दै गर्दा उनी नेपाली कलाकार अरुणा लामा, तारादेवी, नारायण गोपाल, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ र भारतीय गायिका लता मंगेशकर, आशा भोस्ले आदिका गीत दुरुस्त गाउने भइसकेकी थिइन्। उनका शिक्षकहरुले संगीततिर भविष्य रहेको बताउन थालेका थिए र उनी आफैं पनि संगीत सिकेर गायिका बन्ने सपना सजाउन थालेकी थिइन्। तर, त्यो समय परिवारले छोरी गायिका बन्ने कुरालाई सहज रुपमा लिएन। उनले थप जोडबल गर्न नपाइ अमेरिका बस्ने केटासँग विवाह भइहाल्यो।
अमेरिका गएपछि केही समय त्यहाँको जनजीवनसँग अभ्यस्त हुन लाग्यो, त्यसपछि करियर र परिवारभन्दा भन्दै उनको झन्डै तीन दशक गयो।
‘गायिका बन्ने सपनाले बेला-बेला झस्काइरहन्थ्यो,’ उनले भनिन्, ‘त्यसैले मैले साधना छाडिनँ। अमेरिकामा गएको ४ वर्षपछि मैले संगीतको गुरु खोज्न थालेँ। त्यसक्रममा म भारतीय पुजारीकहाँ पुगेँ। उहाँले १ जनाको सम्पर्क नम्बर दिनुभयो। उहाँसँग गएर शास्त्रीय संगीत सिकेँ।’
समय र परिस्थितिले निरन्तरता नभए पनि उनले सकेसम्म संगीतको सम्पर्कमै रहने कोसिस गरिरहिन्। त्यही कोसिसको परिणाम अहिले उनले गीत गाइरहेकी छन्। पछिल्ला २ वर्षदेखि गीत रेकर्ड गराउनकै लागि नेपाल धाइरहेकी छन्।
‘अमेरिका गएपछि सुरुमा ५ वर्षपछि नेपाल फर्किएँ। त्यसपछि फेरि ५, त्यसपछि १० वर्षपछि नेपाल आएँ। म नेपालबाट टाढिएको जस्तो महसुस भयो। सांगितिक कुरामा पनि पछि परेको महसुस गर्न थालें। त्यसपछि अहिले हरेक वर्ष आइरहेकी छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।