काठमाडौं– ड्युटीमा रहेका प्रहरीका सहायक हवल्दारको प्रहरीकै भ्यानबाट खसेर मृत्यु भएको छ। प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हव्लदार हेमराज एलजीको भ्यानबाट खसेर मृत्यु भएको हो।
बिहीबार राति चेकिङ ड्युटी सकेर मोवाईल ड्युटीमा खटिएका सहायक हवल्दार एलजीको मृत्यु भएको हो।
सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ सुवाकोट घर भएका एलजीको दरबन्दी इलाका प्रहरी कार्यालय अरछाने जाजरकोटमा थियो। तर उनी प्रहरी प्रभाग बलम्बुमा कार्यरत थिए।
३५ वर्षीय एलजी बलम्बु प्रहरी कार्यालयको बा १ झ ७४१८ नम्बरको प्रहरी भ्यानबाट खसेका थिए। ड्युटीको क्रममा नैकापबाट प्रहरी कार्यालय बलम्बुतर्फ आउने क्रममा राति सवा ११ बजे भ्यानबाट उनी खसेका थिए। त्यसपछि उपचारका लागि मेड पोइन्ट अस्पतालमा लगिएको थियो।
त्यहाँ उपचार सम्भव नभइपछि उनलाई एपीएफको बलम्बुस्थित अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
मृतक एलजीको शव परीक्षणका लागी त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ। भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले नियन्त्रणमा अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।