काठमाडौं– अध्यागमन विभागबाट हुने सबै सेवाहरुमा शुक्रबारदेखि ई भिसा तथा अनलाइन भुक्तानीको प्रारम्भ भएको छ। शुक्रबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई भिसा तथा नयाँ भिसा लिन र भिसाको म्याद थप गर्ने ई भिसा तथा अनलाइन भुक्तानी सेवाको आरम्भ गरे।
अध्यागमन विभागले शुक्रबारदेखि अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइनमार्फत् स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ। अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरुमा पूर्ण रुपमा डिजिटल र स्वचालित रुपमा सञ्चालन हुने र अब घरमा नै बसेर अध्यागमका सेवाहरु लिन पाइने विभागले जनाएको छ।
विभागले माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ। विभागले सुरु गरेको अनलाइन भुक्तानी सेवाको पहिलो सेवाग्राही ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोला भएका छन्। यस्तै, ई भिसा १ जना विदेशी नागरिकलाई दिएर सुरुवात भएको छ।
उक्त सेवाको आरम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने, आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ। अब नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिने बाहेक अन्य सेवाग्राही विभाग आउनुपर्ने छैन।
सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिने भएको छ।
उक्त सेवाको आरम्भ गर्न आयोजित कार्यक्रममा बोल्दै गृहसचिव दिनेश भट्टराईले अध्यागमन लगायत अन्य गृहमन्त्रालय अन्तर्गत रहेका सेवाहरुलाई स्वचालित र अनलाइन सेवा दिने मिसनमा रहेको बताए। उनले गृह मन्त्रालयले मात्रै लागेरभन्दा पनि अन्य निकायहरुको पनि समन्वय आवश्यक रहेको बताए। उनले अब अध्यायगमनमा जुनसुकै देशबाट ई भिसाको लागि आवदेन दिन र भुक्तानी गर्नसक्ने लक्ष्यमा अघि बढेको बताए।
अध्यागमन विभागबाट प्रदान हुने सेवा शुल्क, भिसा शुल्क तथा जरिवानाहरु सबै नेपाली बैंकहरुका विभिन्न पेमेन्ट गेटवे तथा मोबाइल बैंकिङबाट भुक्तानी हुने व्यवस्था मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।