काठमाडौं– अपहरण तथा शरीर बन्धकको कसुरमा संलग्न भएको आरोपमा नुवाकोट प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ बस्ने २४ वर्षीय चन्द्र बहादुर तामाङ रहेका छन्।
नुवाकोटको ककनी गाउँपालिका–४ बस्ने ५६ वर्षीय सूर्य बहादुर तामाङलाई अपहरण गरी बन्धक बनाएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको हो।
उनीहरूले बा ६ ज ७७७९ नम्बरको गाडीमा आएका सूर्य बहादुरलाई माघ २२ गते राति ककनी गाउँपालिका–४ काउलेदेखि ककनी जाने सडकबाट बन्धक बनाइ गाडीसहित अपहरण गरेका थिए।
अपहरण गरेर पन्चकन्या गाउँपालिकाको कबिलास जाने सडकको एकान्तमा लगि गाडी भित्रै बन्धक बनाइ ज्यान मार्ने धम्की दिएर रकम माग गरेको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले प्रहरी वृत्त बालाजुको सहयोगमा रकम लिन आएको अवस्थामा दुवै जनालाई काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरेको हो।
साथै प्रहरीले सूर्य बहादुरलाई सकुशल अपहरणमुक्त समेत गरेको छ। पक्राउ परेका २ जनाविरुद्ध नुवाकोट जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।