काठमाडौं- संघीय संसद्का कार्यबाहक महासचिव पदमप्रसाद पाण्डेयले सचिव पदबाट राजीनामा दिएका छन्। पाण्डेयले माघ २३ गते पदबाट राजीनामा दिएका हुन्।
पाण्डेयले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्। यसअघि भरतप्रसाद गौतमले महासचिवको पदबाट राजीनामा दिँदै पाण्डेयलाई कार्यबाहकको जिम्मेवारी दिइएको थियो। पाण्डेयको नाम महासचिवका लागि सिफारिस गरिएको थियो। तर नागरिकता विवादमा परेपछि उनले पदबाट राजिनामा दिएका हुन्।
‘राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष संघीय संसद्का कार्यवाहक महासचिव पदमप्रसाद पाण्डेयले संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट मिति २०८० माघ २३ गते दिनुभएको राजीनामा सोही मितिदेखि लागू हुनेगरी सम्माननीय राष्ट्रपतिज्यूले स्वीकृत गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ।
संघीय संसद्को नयाँ महासचिवमा पाण्डेको नाम प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मंसिर २५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए।
संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिवमा प्रतिनिधि सभाका सचिव पाण्डेयको नाम सिफारिस भएको थियो।
उनले ८ महिना कार्यावधि बाँकी रहँदै राजीनामा दिएपछि पाण्डे नयाँ महासचिवमा सिफारिस भएका थिए। संघीय ससंद्को सचिव हुनुअघि पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायधिवक्ता थिए।
उनलाई २०८० वैशाख ७ गते संसद् सचिवालयको सचिवका लागि सिफारिस गरेर नियुक्त गरिएको थियो। राष्ट्रपति पौडेलले महासचिव नियुक्तिका लागि उनको राजीनामा स्वीकृत गरेको बुझिएको छ। उनलाई मंगलबार वा बुधबारसम्म महासचिव नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।