काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै प्रमुख सचेतक परियारले देशमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको उल्लेख गरे।
उनले संसद्मा दलित समुदायका सांसदहरुको प्रतिनिधित्व भए पनि मन्त्रिपरिषद्मा एक जना पनि फुल मन्त्री दलित समुदायको नहुनुले देशको लोकतान्त्रिक अभ्यासलाई छर्लङ्ग पार्ने बताए। अझै पनि महिला तथा दलितहरुको सहभागिताको सवालमा राज्य लोकतान्त्रिक हुन नसकेको बताउँदै उनले देशमा संघीयता पनि अभ्यासमा आउन नसकेको टिप्पणी गरे। गणतन्त्र पनि राजतन्त्रभन्दा धेरै फरक नदेखिएको उनको भनाइ थियो।
‘हाम्रो अभ्यासमा संघीयता छैन। हाम्रो राजनीतिको अभ्यासमा संघीयता छैन। संविधानमा संघीय शासन प्रणालीको परिकल्पना गर्यौँ तर त्यो हाम्रो जीवनमा अबलम्वन गर्न सकेका छैनौँ,’ परियारले भने, ‘लोकतान्त्रिक अभ्यासको कुरा गर्ने हो भने आज सदनमा सबै राजनीतिक पार्टीबाट दलित समुदायको प्रतिनिधित्व छ। तर मन्त्रिपरिषद्मा एक जना दलित फुल मन्त्री हुँदैन। यस्तो परिस्थितमा हामी लोकतान्त्रिक छौँ भन्नु आफैँले आफैँलाई ढाँट्नु हो।’
उनले राजनीतिक दलहरुका कारण संसद्को सार्वभौमिकता नरहेको पनि बताए। संसद्को बैठक अझै पनि परम्परागत शैलीमा गर्ने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।