काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो।
बैठकको निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले समितिले राष्ट्रिय सभाबाट उत्पत्ति भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको बताए। उनले विधेयक संसद्बाट पारित भइसकेपछि ढिलासुस्ती गर्ने, आयोजना प्रमुख, ठेगदार कम्पनी, कार्यालय प्रमुख, सरकार वा मन्त्रीलाई अनुगमन गर्न सहज हुने उल्लेख गरे।
समितिले पारित विधेयक बुधबारपछि बस्ने संसद्को बैठकमा पेस गर्ने जानकारी दिँदै खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयक पनि अन्तिम चरणमा पुर्याएको र अध्यक्ष र बहुमत सदस्य कि अध्यक्ष बाहेकको बहुमत सदस्य भन्ने कुरा मिलाउन शिर्ष नेतालाई जिम्मेवारी दिएको बताए।
खतिवडाले भने, ‘हामीले राष्ट्रिय सभाबाट उत्पत्ति भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेका छौँ। यो विधेयक पारित भइसकेपछि काममा ढिलासुस्ती गर्ने, आयोजना प्रमुख, ठेगदार कम्पनी, कार्यालय प्रमुख, सरकार वा मन्त्री जो हुन् सम्पूर्णलाई अनुगमन गरेर ठिक ठाउँमा ल्याउने र बद्मासी गर्ने र भ्रष्टाचारजन्य कानुनसरह अपराध सरहको कानुन लगाएर ठिक ठाउँमा ल्याउने विधेयक पास गरेका छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।