काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियनको अधिकारको विषय समेट्नु नहुने बताएकी छिन्। मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफलमा भाग लिँदै मन्त्री शर्माले विधेयकमा ट्रेड युनियन अधिकारको विषय राख्नु आवश्यक नभएको उल्लेख गरिन्।
विधेयकमा ट्रेड युनियन सम्बन्धी व्यवस्था नगरिएको भन्दै उनले फेरि सो विषयलाई उल्लेख गर्नु आवश्यक नभएको बताइन्। उनले कर्मचारीको विषयमा छलफल गर्न सकिने भए पनि कर्मचारीको काम, कर्तव्य र अधिकारमा ट्रेड युनियनको अधिकार दिनु नहुने धारणा राखिन्।
मन्त्री शर्माले भनिन्, ‘यो विधेयकमा कहीँ पनि ट्रेड युनियन सम्बन्धी व्यवस्था छैन। व्यवस्था नभएको कुरालाई किन उप्काउने भन्ने हो। कर्मचारी युनियन बन्नुपर्छ भन्ने कुरा कतैकतै आएको भए गम्भीरतापूर्वक सोच्नुपर्थ्यो। हामीले दुरुपयोग गरेर समस्या भएको हो। सदुपयोग गरेको भए केही समस्या हुँदैनथ्यो।’
बैठकमा नेकपा(एमाले)की सांसद विद्या भट्टराईले ट्रेड युनियन अधिकार संविधानले प्रदान गरेको अधिकार भएको उल्लेख गरिन्। उनले ट्रेड युनियन अधिकार नहुँदा कर्मचारीहरुले आफ्नो पीडा र समस्या राख्ने ठाउँ नहुने भन्दै कर्मचारीहरुको अधिकारलाई हनन गर्नु नहुने बताइन्। कर्मचारीहरुको नागरिक अधिकार हनन गर्नु नहुने पनि उनको भनाइ थियो।
बैठकमा (एमाले)का सांसद महेश बर्तौलाले सुरक्षण मुद्रणमा काम गर्न कर्मचारीहरुको छुट्टै संयन्त्र बनाउनुपर्नेमा जोड दिए। सुरक्षण मुद्रणको विषय राष्ट्रको गौरवसँग जोडिने भन्दै उनले यसमा गोपनीयता र विश्वसनीयता कायम गर्न कर्मचारीको छुट्टै संयन्त्र गर्नु आवश्यक भएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।