काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आफ्नै पार्टीका नेता समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्टन्टबाजी गरेको भन्दै विरोध समेत जनाए।
सोमबारदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनअन्तर्गत राष्ट्रिय सभाको बैठकमा दलका तर्फबाट धारणा राख्दै नेता रायमाझीले अहिले सरकारले स्टन्टबाजी गरिरहेको उल्लेख गर्दै स्टन्टबाजी गर्ने बेला बताए।
सरकारमा बसेका मन्त्रीहरुले नयाँ राजनीतिक दलहरुको नक्कल गरिरहेको रायमाझीको भनाइ छ। सरकारमा बस्ने मानिसहरुले काम गर्नुपर्ने भए पनि स्टन्टबाजी गरिरहेको भन्दै उनले आपत्ति जनाए। रायमाझीले गृहमन्त्री र स्वास्थ्यमन्त्रीले काम गर्न छाडेर स्टन्टबाजी गरिरहेको आरोप लगाए। उनले सरकार नौटंकी गर्ने ठाउँ नभएको पनि बताए।
रायमाझीले भने, ‘यो स्टन्ट गर्ने बेला होइन। हामी स्टन्ट गरिरहेका छौँ। नयाँ आएका राजनीतिक पार्टीको नक्कल गरिरहेका छौँ। केही नयाँ राजनीतिक पार्टीहरु आएका छन्, जन्मेका छन्। तिनले गरेका कुराहरु? सरकारमा बस्ने मानिसहरुले त काम गर्ने हो, नाटक गर्ने होइन। नौटंकी गर्ने होइन। नौटंकी बढी भयो जस्तो लाग्छ। स्वास्थ्य मन्त्रालयको कुरा त्यस्तै आउँछ। आजकाल गृहमन्त्री ज्युको पनि कुरा अलिअलि त्यस्तै आउन थालिसक्यो। गृहमन्त्री ज्युको यही रोष्टमबाट प्रशंसा गरेको थिएँ। तर कामभन्दा आजकाल चर्चा, परिर्चा बटुल्न लागेको हो कि जस्तो लागेको छ। यो चर्चा परिचर्चा त हिजो नानीमाया दाहालको पनि थियो पञ्चायतमा। यसले केही हुँदैन। हामीले इतिहास लेख्ने हो। इतिहास बनाउने हो। इतिहास हामीले नबनाए कसले बनाउँछ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।