काठमाडौं– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आफू फरार नभएको बताएका छन्। पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले सोमबार संसद् भवन परिसरमा पत्रकारलाई प्रतिक्रिया दिँदै आफू फरार नभएको बताए।
हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको ‘टेरामक्स’ प्रविधि खरिदमा भएको भनिएको भ्रष्टाचार प्रकरणको नीतिगत निर्णयमा संलग्नता देखिएपछि कार्की फरार रहेका समाचारहरु सार्वजनिक भएका थिए। आफू फरार रहेको भन्ने समाचारहरुप्रति प्रतिक्रिया दिँदै कार्कीले पत्रकारहरूलाई स्वस्थ पत्रकारिता गर्न आग्रह गरे।
‘यस (फरार रहेको भन्ने कुरा)मा कुनै सत्यता छैन। यसमा म अहिले केही बोल्दिनँ’, उनले भने।
टेरामक्स खरिद प्रकरणमा भएको भनिएको अनियमितता प्रकरणमा तत्कालीन सञ्चारमन्त्रीहरू कार्की र मोहन बस्नेतसहितको सलग्नताको विषय बाहिरिएको थियो। यो प्रकरणमा अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।