काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुले संसद्को चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताएका छन्।
सोमवारबाट सुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दाहरुमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई एकताबद्ध भएर अघि बढ्न पनि आग्रह गरे।
विगतका २ अधिवेशनमा संसद् नियमावलीको निर्माण तथा विषयगत समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको उल्लेख गर्दै सभामुख घिमिरेले चालु अधिवेशन मुलुकका लागि आवश्यक कानुन निर्माणमा केन्द्रित हुनुपर्ने बताए। सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझावलाई आत्मासात गर्दै संसद्का चालु अधिवेशन नतिजामुखी हुने विश्वास समेत व्यक्त गरे।
सभामुख घिमिरेले संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास तथा संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागु गर्ने पनि बताए।
सभामुख घिमिरेले लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने भएकाले उनीहरुको भावनाअनुसार सबै राजनीतिक दलहरुले अघि बढ्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।