काठमाडौं- निर्वाचन आयोगले रिक्त स्थानहरुमा उपन निर्वाचन गर्ने तयारी थालेको छ। निर्वाचन आयोगले यसैको तयारीका लागि मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ।
आयोगले उप निर्वाचनको मिति तोकिनुपूर्व मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको हो।
२०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपछि विभिन्न स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य गरी २३ पद रिक्त भएको थियो।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको क्षेत्र इलाम सहितका क्षेत्रमा प्रतिनिधि सभामा रिक्त रहेको छ। निर्वाचन आयोगले उप निर्वाचन वैशाखमा गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको छ। सोही सुझाव अनुसार आयोगले मतदाता नामावलीका लागि सोमबार सूचना जारी गरेको हो।
ती पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपनिर्वाचनका लागि मिति तोक्ने गरी आन्तरिक तयारी सुरु भएको आयोगले जनाएको छ। विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका नागरिकका साथै विशेषगरी पद रिक्त भएका सम्बन्धित स्थानीय तह, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भित्रका योग्यता पुगेका नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले सोमबार आग्रह गरेको हो।
मतदाता नामावली ऐन, २०७३ को दफा ४, ९२० बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही मितिदेखि उक्त निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था छ। आयोगले नियमित रूपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको छ। साथै नागरिकको सहजताका लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधासमेत उपलब्ध गराएको छ।
मतदाता दर्ता सम्बन्धी विद्यमान कानुनी व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।