काठमाडौं- अबदेखि संसद्मा उपस्थित हुने सांसदहरुको विद्युतीय हाजिरी हुने र दैनिक सार्वजनिक गरिने भएको छ। सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू गर्ने निर्णय अनुसार उक्त व्यवस्था गर्ने निर्णय गरेको हो।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा सांसदहरुको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा गरेको बताए। ‘गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरु उठेका छन्। आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणाममुखी बनाउन अपिल गर्दछु,’ सभामुखको अपिल छ।
उनले सांसदहरुको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्ने बताए।
‘माननीयहरुको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो,’ सभामुख घिमिरेको भनाइ छ। परामर्श समितिको बैठकमा कानुन मन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको जानकारी दिए। ‘कार्यतालिकाले बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्नेछ,’ मन्त्री गुरुङको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।